पाष्टर रोबर्ट कार्थकको जीवनी | Biography of Pastor Robert Karthak

पाष्टर रोबर्ट कार्थकको जन्म सन् १९२६ मा भएको थियो र उहाँ भारतको उत्तर-पूर्वी पहाडी क्षेत्र दार्जिलिङको एक ईसाई परिवारमा हुर्किनुभएको  थियो। उहाँ ख्रीष्टियन परिवारमा हुर्कनुभएकोले, उहाँलाई प्रार्थना गर्न, बाइबल पढ्न र चर्चमा बालसंगतिमा भाग लिन सिकाइएको थियो। उहाँको आमाबाबु, र हजुरबा हजुरआमा पनि ख्रिष्टियन हुनुहुन्थ्यो। उहाँको बुबाले कालिम्पोङको प्रेस्बिटेरियन चर्चमा अगुवाको रूपमा सेवा गर्नुहुन्थ्यो। उहाँको घरको सिकाई ठिक भएता पनि चर्चको बाइबलले सिकाएको कुरा व्यवहारमा उतार्न शिक्षा त्यति बलियो थिएन। स्कटिश मिसनरीहरूले चर्चको नेतृत्वलाई धेरै प्रभाव पारेका थिए। चर्चमा आएका केही मिसनरीहरू 'क्रिश्चियन' साक्षीको बारेमा गम्भीर थिएनन् र तिनीहरूको आचरण ईसाई जीवनशैली र आत्मिक अनुशासनसँग पनि मेल खाँदैनथ्यो। त्यही कारणले गर्दा चर्च-जीवनको राम्रो ज्ञान हुँदाहुँदै पनि रोबर्ट कार्थकले आत्मिक जीवनको विषयमा आफ्नो हृदयमा गम्भीरता महसुस गरेनन्। जोर्डन सन्नाद खान नाम गरेका एक मिसनरी कालिम्पोङ आइपुगेका थिए र उनले "नयाँ जन्म" लिनुपर्ने आवश्यकतामा जोड दिँदै येशू ख्रीष्ट मार्फत मात्र मुक्ति पाइन्छ भन्ने प्रचार गर्न थाले। उनको प्रचारले रोबर्ट र अन्य विश्वासीहरूलाई गहिरो प्रभाव पार्यो, जसले गर्दा उनीहरू गम्भीरतापूर्वक बाइबल अध्ययन गर्न र चर्चमा आत्मिक नवीकरण खोज्न बाध्य भए। फलस्वरूप, जवान विश्वासीहरूको एउटा समूहले चर्चलाई जागृत गर्ने प्रयास गरे, तर स्थानीय अगुवाहरूबाट धेरै विरोधको सामना गर्नुपर्‍यो, जसले गर्दा द्वन्द्व र विभाजन भयो। नयाँ समूहले प्रार्थना, सुसमाचार प्रचार र चेलापनमा केन्द्रित चर्च (पछि एल-सद्दाई भनियो) सुरु गरे। कार्थक एक ख्रिष्टियन परिवारमा हुर्केको भएता पनि उहाँले २१ वर्षको उमेरसम्म साँचो मुक्ति वा अनन्त जीवनको आश्वासन अनुभव गर्नुभएन तर १९४६ मा उहाँले व्यक्तिगत रूपमा ख्रीष्टलाई आफ्नो प्रभु र मुक्तिदाताको रूपमा स्वीकार गर्नुभयो। त्यसपछि अर्को १० वर्षसम्म, उहाँले आफ्नो स्थानीय चर्चमा परमेश्वरको सेवा गर्नुभयो र अन्य जवान विश्वासीहरूसँग मिलेर बलियो सेवकाई टोली निर्माण गर्नुभय। चर्चका अगुवाहरूबाट समर्थनको अभावको बाबजुद पनि उहाँले सक्रिय रूपमा आफ्नो विश्वासलाई जीवित राख्दै सेवा गर्नुभयो। एलिजाबेथ फ्र्याङ्कलिन नाम गरेकी एक महिला मिसनरी नेपाली भाषा सिक्न र नेपाली समुदायमा सुसमाचार पुर्‍याउन कालिम्पोङ चर्चमा आएकी थिइन्। उनले रोबर्ट कार्थक र उहाँका साथीहरूलाई आधारभूत बाइबल अध्ययनहरू मार्फत सिकाइन् र नेपालमा मिसन कार्यको लागि तालिम दिइन्। सन् १९५० मा, स्कूल बिदाको समयमा, रोबर्ट र उहाँका भिनाजु राजेन्द्र रोङ्गोङले रक्सौल सीमा हुँदै नेपालको भ्रमण गर्नुभयो, जहाँबाट उहाँ भीमफेईसम्म पुग्नुभयो। सडक निर्माण कार्य जारी रहेको भए तापनि, उहाँहरूले त्यहाँको भूमि, संस्कृति र मानिसहरूको परिचितताको आनन्द उठानुभयो, जुन कालिम्पोङसँग मिल्दोजुल्दो थियो। त्यो भ्रमणको क्रममा, उहाँहरूले केही स्थानीय व्यक्तिहरूसँग ख्रीष्टको सुसमाचार पनि बाँडनुभयो। त्यस क्षणमा यूहन्ना १०:१६ मार्फत, रोबर्ट कार्थकले नेपालमा मिसन कार्यमा आफ्नो जीवन समर्पित गर्न परमेश्वरबाट स्पष्ट ईश्वरीय बोलावट महसुस गर्नुभयो। रोबर्ट कार्थक विश्वस्त भइसक्नु भएको थियो कि नेपालमा सेवाको लागि उहाँको ईश्वरीय बोलावट परमेश्वरको योजनाको एक हिस्सा थियो। सन् १९५४ मा, उहाँ एलिजाबेथ फ्र्याङ्कलिनसँग महिलाहरूको लागि विद्यालय खोल्ने वार्ता गर्न काठमाडौंको अर्को भ्रमणको लागि आउनुभयो। रोबर्ट कार्थक, उहाँकी दिदि र उहाँका भिनाजु सबै शिक्षक भएकोले, फ्र्याङ्कलिनले उहाँहरूलाई नेपाल मिसनमा सामेल हुन प्रोत्साहित गरिन। नेपालको लागि मिसन कार्यको लागि यो निमन्त्रणा स्वीकार गरेर रोबर्ट कार्थक र समूहले मिसनरीको रूपमा सेवा गर्न आफूलाई प्रतिबद्ध गर्नुभयो। आफ्नो परिवार र वृद्ध आमाबाबुको जेठो छोरा भएकाले रोबर्ट कार्थकले घर नछोड्न कडा सामाजिक र पारिवारिक दबाबको सामना गर्नुपरेको थियो। तर उहाँले धेरै संघर्षहरूको बावजुद परमेश्वरमा भरोसा राखेर र मिसनलाई अँगालेर नेपालमा सेवा गर्ने आफ्नो ईश्वरीय बोलावटलाई पछ्याउने छनौट गर्नुभयो। बाल बप्तिस्मा अपूर्ण भएको महसुस गर्दै, उहाँले पछि पोखरामा पास्टर डेभिड मुखियाको नेतृत्वमा पानीको बप्तिस्मा लिनुभयो। 



    रोबर्ट कार्थक र उहाँको टोलीले सीमित स्रोतसाधनका बाबजुद स्थानीय नेवारी समुदायमा पुगेर भक्तपुरमा आफ्नो मिसन कार्य सुरु गर्नुभयो। उहाँहरूले सुरुमा पुतलीसडकमा भएको अर्को संगतिमा सामेल हुनुभयो तर पछि आफ्नै मण्डली सुरु गर्ने निर्णय गर्नुभयो। सन् १९५७ को अगस्टमा, रोबर्ट कार्थकको समूहले १६ जनाको सानो चर्च सुरु गर्‍यो जुन पहिले डिल्ली बजार संगतीको रूपमा चिनिन्थ्यो र पछि ज्ञानेश्वर चर्च (अहिले नेपाली इसाई मण्डलीको रूपमा चिनिन्छ) भयो। रोबर्ट कार्थकलाई सुरुदेखि नै पास्टरको रूपमा स्वीकार गरिएको थियो र सेवकाईमा वृद्धिसँगै तीन वर्ष भित्र काठमाडौं उपत्यकामा तीनवटा साना चर्चहरू स्थापना भएका थिए। रोबर्ट कार्थकले आफ्नो जीवन परमेश्वरको सेवामा समर्पित गर्नुभयो र विशेष गरी येशू ख्रीष्टको बारेमा नसुनेका मानिसहरूसम्म सुसमाचार निरन्तर प्रचार गर्नुभयो। रोबर्ट कार्थक औपचारिक बाइबल तालिममा भर्ना हुन चाहनुहुन्थ्र्यो तर आफ्नो बढ्दो सेवा र जिम्मेवारीका कारण त्यसो गर्न सक्नुभएन। पछि उहाँ छोटो अवधिको तालिमको लागि भारत र इङ्गल्याण्ड जस्ता देशहरूमा जानुभयो। तालिमबाट फर्केपछि उहाँले ग्याङटोकमा मेरी लेप्चासँग विवाह गर्नुभयो। सीमित औपचारिक शिक्षाको बाबजुद पनि रोबर्ट कार्थकले पवित्र आत्मा र परमेश्वरको वचनको मार्गदर्शनमा भर परे जसले उनको सेवालाई बढायो। उनको नम्रता, जोश र भक्तिले उनलाई ज्ञानेश्वर चर्चको पास्टरको रूपमा विश्वासयोग्य रूपमा सेवा गर्न र समुदायको नेतृत्व र हेरचाह गर्न सक्षम बनायो। सुरुदेखि नै, पास्टर रोबर्ट कार्थकले नेपालको चर्चलाई अग्रगामी, बाइबल-केन्द्रित चर्चको रूपमा आकार दिन मद्दत गर्नुभयो जसले चर्चमा झूटा शिक्षाहरूबाट बच्न मद्दत गर्‍यो। फलस्वरूप चर्चले परमेश्वरको वचन र पवित्र आत्माको मार्गदर्शनमा ध्यान केन्द्रित गर्‍यो। उहाँकी श्रीमती मेरी (मेरी गुरु-आमा) ले आफ्नो अनुशासन, भक्ति र हेरचाह मार्फत महत्त्वपूर्ण नेतृत्व भूमिका खेल्नुभयो जसले चर्चको सेवकाई वृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍यायो। उहाँहरूले मिलेर अगुवापन साथै चेलापन र पादरी तालिमलाई प्राथमिकता दिनुभयो जसले गर्दा देशभरि धेरै छोरी चर्चहरूको वृद्धि भयो। मेरी गुरुआमाले आफ्नो परिवारको पालनपोषण गर्दै र भविष्यका अगुवाहरूलाई मार्गदर्शन गर्दै आफ्ना पति रोबर्ट कार्थकको ईश्वरीय बोलावटलाई दृढतापूर्वक समर्थन गर्नुभयो। धेरै चुनौती र सतावटको बाबजुद पनि सेवकाई फस्टाउँदै गयो। सन् १९९७ मा मेरी गुरुआमाको निधन भएपछि रोबर्ट कार्थकले एक्लै सेवकाईलाई निरन्तरता दिनुपर्‍यो। पछि उहाँका छोरा शमूएल कार्थकले उहाँलाई चर्चको सबै सेवा कार्यहरूमा सहयोग गर्नुभयो। आफ्नो बुढेसकालमा पनि रोबर्ट कार्थक सक्रिय र जोशले भरिपूर्ण हुनुहुन्थ्यो। कोभिड-१९ को महामहामारीको समयमा रोबर्ट कार्थकले आफ्ना छोरा शमूएल कार्थकसँगै संसार छोड्नुभयो। आज उहाँ भौतिक रूपमा हामीसँग हुनुहुन्न तर नेपाली क्रिश्चियन समुदायप्रति उहाँको योगदान सधै हाम्रो माझमा रहिरहनेछ।


🔔 सूचना तथा अनुरोध:

यस लेखमा समावेश जानकारी विभिन्न  उपलब्ध स्रोतहरूमा आधारित छ। हामीले सामग्रीलाई यथासम्भव सत्य, सन्तुलित र स्पष्ट बनाउने प्रयास गरेका छौं, तर पूर्णताको ग्यारेन्टी गर्न सकिँदैन। यदि कुनै तथ्यगत त्रुटि, थप जानकारी वा संशोधन आवश्यक देख्नुहुन्छ भने कृपया हामीलाई जानकारी गराउनुहोस्। तपाईंको सुझाव, प्रतिक्रिया र सहयोगले यस सेवालाई अझ प्रभावकारी बनाउन मद्दत गर्नेछ। कृपया कमेन्ट वा इमेल मार्फत आफ्नो विचार साझा गर्नुहोस्।

Comments

Popular posts from this blog

त्रिएक परमेश्वर भनेको के हो र यसलाई कसरी ठीकसंग बुझ्ने ?

ख्रीष्टियन जीवनमा प्रार्थना किन महत्त्वपूर्ण छ?