त्रिएक परमेश्वर भनेको के हो र यसलाई कसरी ठीकसंग बुझ्ने ?
त्रिएक परमेश्वरको ईसाई अवधारणाको बारेमा सबैभन्दा कठिन कुरा यो हो कि यसलाई पूर्ण रूपमा बुझ्न वा व्याख्या गर्ने कुनै विशेष तरिका छैन। परमेश्वर हामी भन्दा असीम रूपमा महान हुनुहुन्छ; त्यसैले, हामी परमेश्वरलाई पूर्ण रूपमा बुझ्न सक्दैनौं। तर हामी बाइबलमा विश्वास गर्छौं, जसले सिकाउँछ कि पिता परमेश्वर हुनुहुन्छ, येशू परमेश्वर हुनुहुन्छ, र पवित्र आत्मा परमेश्वर हुनुहुन्छ। साथै, बाइबलले यो पनि सिकाउँछ कि केवल एक मात्र परमेश्वर हुनुहुन्छ। त्यसैले, एक परमेश्वर तीन व्यक्तित्वमा अवस्थित हुनुहुन्छ। सरल शब्दमा भन्नु पर्दा, त्रिएकको अर्थ एकमा तीन हो। हामी बाइबलमा त्रिएक शब्द स्पष्ट रूपमा फेला पार्न सक्दैनौं तर यसको अर्थ यो होइन कि पहिलेका चर्चहरूमा यो स्पष्ट रूपमा सिकाइएको थिएन। प्रथम शताब्दीका मण्डलीहरूका विश्वासीहरूहरूले त्रिएक परमेश्वरमा विश्वास गर्थे र प्रेरितहरू र अगुवाहरूले यस बारेमा सिकाएका थिए। त्रिएक परमेश्वरको व्याख्या गर्ने तीन सबैभन्दा लोकप्रिय उदाहरणहरू पानी, अण्डा र सूर्य हुन्। पानीको व्याख्याको उदाहरणले भन्छ - हाइड्रोजन र अक्सिजनको संयोजन पानी हो, चाहे त्यो तरल होस्, जमेको होस् वा बाफ। त्यस्तै गरी, अण्डाको व्याख्याको उदाहरणले भन्छ - अण्डा पहेँलो भाग, सेतो भाग र खोल मिलेर बनेको हुन्छ। त्यस्तै गरी, सूर्यको व्याख्याको उदाहरणले भन्छ - सूर्य एक भौतिक वस्तु हो, तर यसले प्रकाश र ताप पनि दिन्छ। यद्यपि, त्रिएक परमेश्वरको व्याख्या गर्न यी समानता उदाहरणहरूमा मात्र भर पर्दा हामीले विभिन्न त्रुटि र भ्रमहरूलाई निम्त्याउन सक्छौं। यी उदाहरणहरूमा मात्र भर पर्दा मानिसहरूले परमेश्वरलाई विभिन्न समयमा र विभिन्न परिस्थितिहरूमा (जस्तै पानी) एकबाट अर्कोमा परिवर्तनशील रूपमा बुझ्ने जोखिम हुनेछ जसले परमेश्वरलाई सर्वशक्तिमान परमेश्वर हुनबाट रोक्छ। त्यसैले, त्रिएक परमेश्वरको व्याख्या गर्न उदाहरणहरू प्रयोग गर्दा ती त्रुटिहरूबाट बच्नु हाम्रो लागि महत्त्वपूर्ण छ।
त्रिएक परमेश्वरको सिद्धान्तले तीन व्यक्तित्वमा एक परमेश्वर हुनुहुन्छ भन्ने कुरालाई बुझाउँछ। बाइबलले सिकाउँछ कि परमेश्वर एक हुनुहुन्छ (व्यवस्था ६:४), तर उहाँ तीन व्यक्तित्वमा प्रकट हुनुहुन्छ। थप औपचारिक भाषा प्रयोग गर्दै, हामी भन्न सक्छौं: एउटा दिव्य प्रकृति छ (ग्रीक: physis); एउटा दिव्य सार (ल्याटिन: esse); एउटा दिव्य अस्तित्व (ग्रीक: ousia); एउटा ठोस वास्तविकता (ल्याटिन: substantia, )। अनि तीन दिव्य ईश्वरीय पात्रहरू (पिता, पुत्र, पवित्र आत्मा) हुनुहुन्छ जो फरक व्यक्तिगत हुनुहुन्छ , र एकअर्कासँग अन्तरसम्बन्धित हुनुहुन्छ । सही रूपमा एकसाथ राख्दा, त्रिएक परमेश्वरको बुझाइले हामीलाई कम्तिमा चार साँचो पुष्टिकरण र चार अस्वीकारहरूमा डोऱ्याउछ:
१. परमेश्वर एक हुनुहुन्छ।
२. पिता परमेश्वर हुनुहुन्छ।
३. पुत्र परमेश्वर हुनुहुन्छ।
४. पवित्र आत्मा परमेश्वर हुनुहुन्छ।
५. पिता पुत्र वा पवित्र आत्मा हुनुहुन्न।
६. पुत्र पिता वा पवित्र आत्मा हुनुहुन्न।
७. पवित्र आत्मा पिता वा पुत्र हुनुहुन्न।
८. तीन फरक परमेश्वर हुनुहुन्न ।
Comments
Post a Comment